पोखरा : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारीको नाममा ठूलो लुटको धन्दा रहेको भन्दै जोसुकै भए पनि छुट दिन नहुने बताएका छन् ।
सोमबार पोखरामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो सहकारी ठगी प्रकरणमा जोसुकै दोषी छन् भने उनीहरुले छुट पाउनु हुँदैन ।’ उनले सहकारी पीडित प्रति आफ्नो सहानुभूति रहेको र सरकारले तत्काल उनीहरुको रकम फिर्ता गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
उनले पीडितले न्याय पाउनुपर्ने र दोषी उम्किन नहुनेमा जोड दिँदै अगाडि भने, ‘तर, राजनीतिक पूर्वाग्रहको आधारमा कुनै पनि काम नहोस् । ’पोखरामै यतिबेला रास्वपा सभापति तथा पूर्व उपपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि १० दिनदेखि प्रहरी हिरासतमा छन् ।





