प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने

२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि हुने चीन भ्रमणको क्रममा पेकिङ विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने भएका छन् । पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध, क्षेत्रीय सहकार्य, र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे आफ्ना विचार प्रस्तुत गर्नेछन् ।

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा हुन लागेको यस भ्रमणमा प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटघाटहरू, द्विपक्षीय वार्ता, र व्यापार मञ्चहरूमा सहभागिता रहनेछ । भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघ को संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ली छ्याङसँगको भेटमा आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुनेछ। प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, उच्चस्तरीय सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधि, र सञ्चारकर्मीहरूको टोली रहनेछ। प्रधानमन्त्री ओली र उनको प्रतिनिधिमण्डल २० गते फर्कने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार