यो देशमा सक्कली माओवादी नै छैनन् : हर्क साम्पाङ

२०८१ मंसिर २०, बिहीबार

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले देशमा अहिले सक्कली माओवादी कोही पनि नभएको आरोप लगाएका छन् ।

बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । खोज पत्रकारीता केन्द्र (खोपके) ले प्रकाशित गरेको ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ मा समेटिएका विषयबारे जवाफ दिन उनले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

खोपकेको रिपोर्टमा ‘नक्कली माओवादीदेखि मेयरसम्म’ उपशीर्षकमा हर्क माओवादीसँग चन्दा उठाउन धरानस्थित वाणिज्य बैंकसम्म पुगेको उल्लेख छ । माओवादीका तत्कालीन इन्चार्ज प्रवेश राईको योजनामा चन्दा माग्नेलाई बैंकसम्म बोलाइएको र त्यतिबेला पहेंलो र सेतो रङको करिज्मा मोटरसाइकलमा सम्पाङ पुगेको बताइएको छ ।

जसलाई साम्पाङले पनि स्वीकार गरेका छन् । ‘…सधैंभरी आफ्नो मोटरसाइकल लाने र गायब हुने भएपछि त्यो दिन मैले नै पुर्‍याइदिन गएको थिएँ । बैंकमा गइसकेपछि उहाँहरूले दुव्र्यवहार गर्नुभयो,’ साम्पाङले बिहीबार भनेका छन् ।

उनले त्यतिबेला माओवादीको स्थितिबारे थप बताउन थाले । ‘..त्यतिखेरको स्थिति नै त्यही थियो । लडाईं भइराखेको, युद्ध जितेर आएको, युद्धविराम भएर आएको उन्माद माओवादीमा थियो । उहाँहरूको व्यवहार अहिले पनि त्यस्तै त्यस्तै न छ,’ उनले भनेका छन् ।

त्यसपछि एक पत्रकारले मेयर साम्पाङलाई प्रश्न गर्छन्, ‘मेयरसाब, नक्कली माओवादी को थिए त त्यतिबेला ?’ जवाफमा उनले भने, ‘नक्कली माओवादी को थिए भन्नेकुरा मलाई थाहा छैन । यो देशमा सक्कली माओवादी छ र ? म तपाईंलाई प्रश्न गर्न चाहन्छु, यो देशमा सक्कली माओवादी छ ? छैन कोही पनि । सबै नक्कली माओवादी हुन् ।’

उनले माओवादीबारे थप भने, ‘संगठित भएँ भन्दैमा हुन्छ र ? माओको सिद्धान्तअनुसार भएको छ र ? आर्थिक एजेन्डा छ र ? सक्कली नक्कलीको कुरै नगरौं, देशमा कोही पनि सक्कली माओवादी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार