माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने

२०८१ पुष २३, मंगलवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

सोमबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले ६ महिनासम्म अभियान सञ्चालन गरी त्यसपछि महाधिवेशनको कार्यक्रम अघि बढाउने निर्णय गरेको हो। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, यो अभियान समाजवादका लागि कोशेढुंगा सावित हुने विश्वास लिइएको छ।

बैठकमा संविधान संशोधनका विषयमा गम्भीर छलफल भएको र संशोधनभन्दा संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा स्थापित भएको प्रवक्ता सापकोटाले बताए। तर, संविधान संशोधन गर्नैपर्ने अवस्था आएमा अग्रगमन, परिवर्तन र जनताको अधिकार विस्तार गर्ने उद्देश्यले मात्र गर्नुपर्नेमा जोड दिइएको छ।

सापकोटाले भने, ‘बैठकमा ११४ जनाले आ–आफ्नो धारणा राख्नुभयो। अध्यक्षद्वारा प्रस्तुत प्रस्तावमा सबैको समर्थन रहेको छ। पार्टीले पहिलो ६ महिना अभियान चलाउने र त्यसपछि महाधिवेशनमा जाने निर्णय गरेको छ। यो अभियान समाजवादको दिशामा महत्वपूर्ण पहलकदमी हुने विश्वास गरिएको छ।’

उनका अनुसार, बैठकले राज्यका निकायमा महिला र दलितको सहभागिता बढाउन संविधान संशोधन आवश्यक हुनेमा जोड दिएको छ। ‘संविधान संशोधन जनताको अधिकार कटौती गर्न होइन, विस्तार गर्न, परिवर्तनको पक्षमा राष्ट्रिय बहस गर्दै अघि बढाउनुपर्छ,’ उनले थपे। पार्टीले माघ महिनाभरि अभियानको तयारी गरी फागुन १ गते जनयुद्ध दिवस मनाउँदै हुलाकी मार्ग र पूर्व–पश्चिम राजमार्गमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। चैत महिनाभरि तयारी गरी वैशाख महिनाभर हिमाली र मध्यपहाडी क्षेत्रमा ‘जनतासँग माओवादी’ अभियान सञ्चालन गरिनेछ।

बैठकले सबै नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्दै पालिका र वडास्तरमा पुर्‍याउने गरी कार्ययोजना तयार पारेको छ। ‘एक हप्ताभित्र कार्यविभाजनको अन्तिम रूप दिइनेछ र माघ पहिलो सातासम्म सर्कुलर गरिनेछ,’ प्रवक्ता सापकोटाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार