विराटनगर : कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् ।
नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिँडिरहेको टिप्पणी गरे ।
उनले तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्ति व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताए । ‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदै छ । राजनीति भनेको पेसा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसा कमाउने हो भने अन्य थुप्रै विकल्प छन् । तर, राजनीति गर्नु भनेको समाज सेवा गर्नु हो ।’ जनप्रतिनिधिहरू लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो ।
नेता कोइरालाले सरकारले संसद्लाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाए । उनले संसद् बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको टिप्पणी गरे। ‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन् । अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ उनले भने, ‘संसदमै पेस गर्दा पनि कांग्रेस र एमाले मिल्दा झन्डै दुईतिहाइको संख्या छ । सजिलै पास हुन्थ्यो । संसद् छलेर सरकारले जुन अध्यादेश ल्याएको छ, त्यो ठीक भएन् ।’
कार्यक्रममा डा. कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमान्दारीको पाठ सिकाएको बताए । इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।
कार्यक्रमा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पूनम कोइराला लगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर २५ हजार नगद सहित सम्मानपत्र प्रदान गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ।





