काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रवि लामिछाने फसाउनमा सम्पूर्ण राज्यशक्ति लागेको आरोप लगाएका छन्।
बिहीबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘अदालतले धरौटीमा छाडिसकेपछि पनि उहाँको निलम्बन कति संवैधानिक र न्यायपूर्ण छ ? पुनर्समीक्षा गरियोस्। राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरण लाग्ने र सांसद पद निलम्बन भइहाल्ने हो भने भोलि यो कहाँसम्म जाला ?,’ उनले भने।
अगाडि उनले भने, ‘सरकार बलियो त्यतिबेला देखिन्छ, जतिबेला कसैका प्रति राजनीतिक प्रतिशोध साँध्नुपर्छ। त्यसको उदाहरण त रवि लामिछाने नै हुनुहुन्छ। सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष नजोडिएको उहाँलाई सबैभन्दा ठूलो सहकारी ठगको रूपमा देशभरि दौडाइँदैछ। हिजो उहाँलाई ठूला-ठूला अफर गर्नेहरू न्यायपालिकालाई धम्क्याएर पनि फसाइछाड्ने योजनामा छन्।’





