वर्षमान पुनसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने देखियो: शंकर पोखरेल

२०८१ माघ २७, आईतवार

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यादेश स्वीकृत गर्न नेकपा (माओवादी केन्द्र) को सहयोग खोज्दै माओवादी उपमहासचिव वर्षमान पुनसँग कुराकानी गरेको विषय अहिले चर्चामा छ। माओवादी उपमहासचिव पुनले शनिबार यो विषय खुलासा गरेका थिए- गुल्मीको चन्द्रकोट पुगेर।

‘राष्ट्रिय सभामा बहुमत नभएपछि अहिले हारगुहार गर्दै हुनुहुन्छ, पाल्पामा आइपुग्दा एमाले महासचिव शंकर पोखरेलजीले फोन गर्नुभयो- अध्यादेशमा सहयोग गर्नुपर्‍यो भन्दै,’ वर्षमानले शनिबार गुल्मीमा भने, ‘अस्तिसम्म दुई तिहाइको धाक लगाउँदै हुनुहुन्थ्यो, दुई दलीय व्यवस्थामा लान्छौं भन्ने हुँकार गर्नुहुन्थ्यो, अहिले सहयोग गर्नुस् भनेर अनुरोध गर्ने ठाउँमा आइपुग्नुभयो।’

वर्षमान पुनले अध्यादेशमा सहयोग मागेको भन्ने अभिव्यक्ति दिएपछि समाचार प्रकाशित भएका थिए। आइतबार बिहान एमाले महासचिव शंकर पोखरेलले माओवादी उपमहासचिव वर्षमान पुनका कुरामा फेसबुकमा लामो स्टाटस राख्दै स्पष्टीकरण दिएका छन्।

‘नेताहरूका वीचमा शिष्टाचारबश हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ,’ महासचिव पोखरेलको भनाइ छ, ‘अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो।’

पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्ने उल्लेख गर्दै उनले अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्ने बताएका छन्। ‘त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिदैन,’ उनले भने, ‘उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ तर त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुने कुरा हो।’

आफूले वर्षमानसँग गरेको टेलिफोन कुराकानीभन्दा खबरहरू फरक ढंगले आएको पनि बताए। ‘जहाँसम्म उहाँसँग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ। मसँग उहाँले गरेको कुराकानी र सम्प्रषित समाचार पूर्णतः फरक पनि छ तर अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिनँ,’ महासचिव पोखरेलको भनाइ छ।

‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत् नै हुने थियो। आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ। जस्तो संक्रमणकालिन न्यायको विषयमा,’ पोखरेलले भनेका छन्।

वर्षमान पुनसँग टेलिफोन गरेकै कारण बलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्य खण्डित भएको माओवादीका नेता कार्यकर्ताको प्रचारवाजी वचकनापनबाहेक केही नभएको उनको भनाइ छ।

‘राजनीतिक ध्रुवीकरणका सन्दर्भमा त्यसप्रति नेकपा (एमाले) को नीति स्पष्ट छ। विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो। अब पुनः त्यही काम गर्नु उचित हुँदैन। कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अवको बाटो हो। वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ,’ उनले भने।

महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि बलिया दलहरूको निर्माण गर्नु पर्दछ भन्ने विचारको उद्देश्य साना राजनीतिक दलहरूलाई संवैधानिक र कानूनी रूपमा निषेध गर्नु होइन पनि भनेका छन्।

‘बलियो राष्ट्रिय शक्तिको निर्माण राजनीतिक ध्रुवीकरणको बाटोबाट हासिल गरिने विषय हो। अहिलेको हंग पार्लियामेन्ट भित्रको धेरै दलसँगको सहकार्यले त्यसको औचित्य खण्डित हुँदैन। बरू त्यसको महत्वलाई वर्तमान घटनाक्रमले झनै पुष्टि गरेको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार