हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकाले १ फागुनमा सार्वजनिक बिदा दिएको छ । पालिकाले बुधबार सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिएको जनाएको हो ।
१ फागुन २०५२ बाट सुरु भएको जनयुद्धको फलस्वरूप एकात्मक केन्द्रीकृत राज्य संरचनालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा ल्याई धर्म निरपेक्षता, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली मार्फत राज्यका सबै संयन्त्रहरुमा आम नागरिकको हक अधिकार सुनिश्चित गर्न सफल भएको स्मरणमा १ फागुनमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।
पालिकाका अध्यक्ष सर्केश घलानद्वारा हस्ताक्षरित सूचनामा नागरिकले संविधान सभा मार्फत आफ्नो संविधान आफैँ निर्माण गर्न पाउनु पर्ने विश्वव्यापी उन्नत लोकतान्त्रिक प्रणालीको अभ्यास गराउन वर्तमान शासन प्रणालीको प्रमुख आधार जनयुद्ध बनेको उल्लेख गरिएको छ ।






