काठमाडौं : गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताएका छन्।
शुक्रबार आयोजित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले व्यावसायिक वातावरण सुनिश्चित गर्न अध्यादेश ल्याएको बताउँदै यथाशीघ्र सदनबाट स्वीकृत हुने जानकारी दिए।
‘केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ,’ मन्त्री लेखकले भने, ‘समयभित्रै सदनले स्वीकार गरी प्रतिस्थापन गरेर नयाँ कानुन बनाउँछौँ।’ उनले सरकारद्वारा ल्याइएका अध्यादेशले निजी क्षेत्र उत्साहित भएका बताए।
‘हाम्रो संविधानले तीन खम्बे अर्थ नीतिको व्यवस्था गरेको छ,’ उनले भने, ‘निजी क्षेत्रका लागि सरकारले व्यावसायिक वातावरण सुनिश्चित गर्न अध्यादेशमार्फत कानुन कार्यान्वयनको वातावरण बनाउन लागेको हो।’ उनले मुलुकभर शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रमा केही भएको छैन भन्ने भाष्य निर्माण भएको बताउँदै लोकतान्त्रिक पद्दतिका कारण मुलुकमा थुप्रै विश्विद्यालय स्थापना भएका उल्लेख गरे।





