काठमाडौं : कांग्रेस–एमाले गठबन्धन सरकारले आईजीपी र चैत २४ मा खाली हुने नेपाल राष्ट्र बैंकको गभर्नर पदमा ‘सौदाबाजी’ गर्ने रणनीति बनाउन सक्ने जानकारहरू बताउँछन् ।
हाल एमाले नेतृत्वको सरकार र अर्थमन्त्री एमालेकै रहेकाले गभर्नर लिएर आईजीपी कांग्रेसलाई दिनेगरी सहमति गर्न सक्ने स्रोत बताउँछन् । यसमा ओली र देउवाको सहमति अनिवार्य रहन्छ । गभर्नरको कार्यकाल ४ वर्षको हुने भएकाले कांग्रेसले ६ महिने आईजीपीका लागि पद बाँडफाँडमा सहमति जनाउने सम्भावना कम छ ।
गृहमन्त्री रमेश लेखकले आईजीपी नियुक्तिको गृहकार्य शुरू भएपनि गभर्नर र आईजीपी पद बाँडफाँडको विषयमा कतै कुराकानी नभएको दाबी गरे । उनले भने, ‘भोलि बस्ने मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गर्छ, बाहिर चर्चा चलेजस्तो एमाले र कांग्रेसले गभर्नर र आईजीपी बाँडफाँड गर्ने विषयमा कतै कुराकानी भएको छैन ।’





