काठमाडौँ : सभामुखले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। कुलमान घिसिङ हटाएका विषयमा अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएकाले सहमतिका लागि सभामुख देवराज घिमिरेले संसद्का प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका हुन्।
प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान छ। सोही विषयमा विपक्षी दलहरूले बुधबारदेखि लगातार संसद् बैठक अवरुद्ध पारिरहेका छन्। सत्तापक्ष र प्रतिपक्षको अडानका कारण बिहीबार बस्न नसकेको प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
यस्तै बिहीबार केही बेर बसेर अवरुद्ध राष्ट्रिय सभाको बैठक पनि आजका लागि बोलाइएको छ। तर कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिनैपर्ने र प्रधानमन्त्री नदिने अडानका कारण आज पनि दुवै सदनका बैठक अन्योलमा देखिन्छ।





