काठमाडौँ : भारतको केन्द्र सरकारले सबै दलका सांसदहरूको सात टोली बनाएर विश्वलाई अपरेशन सिन्दूरबारे जानकारी गराउने भएको छ। प्रत्येक टोलीमा ५ सांसद रहनेछन्, जसमध्ये एकले नेतृत्व गर्ने जनाइएको छ। संसदीय मामिला मन्त्रालयले टोली नेताहरूको नाम सार्वजनिक गरेको छ।
सत्तारुढ भारतीय जनता दल (भाजपा) बाट रविशंकर प्रसाद र बैजयन्त पाण्डा रहेका छन्। विपक्षी कांग्रेसबाट शशि थरुर पनि सूचीमा परेका छन्। त्यस्तै सञ्जय कुमार झा (जेडीयू), कनिमोझी करुणानिधि (डीएमके), सुप्रिया सुले (एनसीपी–एसपी) र श्रीकान्त एकनाथ शिन्दे (शिवसेना–शिन्दे समूह) का सांसद रहेका छन्। यी टोलीले मे २३ वा २४ देखि १० दिनसम्म संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्यसहित प्रमुख देशहरूको भ्रमण गर्नेछ। उनीहरूले आतंकवादविरुद्ध भारतको नीति र अपरेशन सिन्दूरमार्फत पाकिस्तानविरुद्धको कारबाहीबारे जानकारी गराउने छ।
कांग्रेस सांसद जयराम रमेशले एक्समा भने, ‘शुक्रबार संसदीय मामिला मन्त्री किरण रिजिजुले कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे र राहुल गान्धीसँग कुरा गरे। आतंकवादमा भारतको अडान स्पष्ट गर्न चार सांसदको नाम मागिएको थियो। कांग्रेसले आनन्द शर्मा, गौरव गोगोई, डा. सैयद नसीर हुसेन र राजा ब्रारको नाम दिएको छ।’ उनले थपे, ‘प्रधानमन्त्रीले बहुदलीय टोली पठाउने निर्णय गरेका छन्। कांग्रेस यो टोलीको हिस्सा हुनेछ किनभने हामी राष्ट्रिय सुरक्षालाई राजनीतिकरण गर्दैनौं।’
पीटीआईका अनुसार टोलीले अमेरिका, बेलायत, दक्षिण अफ्रिका, कतार र युएईको भ्रमण गर्नेछ। शशि थरुरले एक्समा लेखेका छन्, ‘पाँच प्रमुख राजधानीहरूमा सर्वदलीय टोलीको नेतृत्व गर्न सरकारको निमन्त्रणाबाट म सम्मानित छु।’ टोलीमा अनुराग ठाकुर, अपराजिता सारंगी, सुदीप बन्द्योपाध्याय, सस्मित पात्रा, जोन ब्रिटास र असदुद्दीन ओवैसीको नाम विचाराधीन छन्।
अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलामा २६ पर्यटक मारिएका थिए। जवाफमा ७ मेमा भारतले पाकिस्तान प्रशासित कश्मीरमा नौ आतंकवादी अड्डामा हवाई हमला गर्यो, जसमा १०० आतंकवादी मारिएको दाबी छ। जवाफमा पाकिस्तानले पनि भारतमाथि आक्रमण गरेको थियो। तर १० मेमा दुवै देश युद्धविराममा सहमत भए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्समा भने, ‘अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानले आक्रमण रोक्न सहमत भएका छन्।’





