काठमाडौँ : विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए पछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न दिए ।
पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरे ।
‘गृहमन्त्रीज्यूको सचिवालय जोडिएको कुरा आइरहेका छन् । उहाँमाथि र उहाँको सचिवालयमाथि आरोप लागेपछि उहाँले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ । र घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग बन्नुपर्छ । त्यो नहुँदासम्म संसद् चल्न सक्दैन,’ पुनले भने ।
पुनको भनाइ सकिएपछि पनि विपक्षी सांसदहरू उठेपछि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोल्न समय दिए । उनले पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्न माग गर्दै उच्च स्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताए ।
त्यसपछि सभामुखले कांग्रेस सांसद श्याम घिमिरेलाई बोल्न समय दिएसँगै विपक्षीले नाराबाजी सुरु गरेका थिए । लगत्तै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।





