काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आइतबारको प्रदर्शनमा सरकारले गरेको दमनले आफूहरूको आन्दोलन नरोकिने बरु अझ उचाइमा पुग्ने चेतावनी दिएका छन्।
प्रहरी हिरासतबाट रिहा भएलगत्तै पत्रकार सम्मेलन गर्दै उनले प्रहरीले आफूमाथि अमानवीय व्यवहार गरेको र बुटले हिर्काउँदै घिसारेर पक्राउ गरेको सुनाए। उनले भने, ‘सरकारले जति दमन गर्दै जान्छ, स्वाभाविक रूपले आन्दोलनको उचाइ अझ बढ्दै जान्छ र अझ बढी प्रतिबद्धताका साथ हामी आफ्नो लक्ष्य प्राप्तिको निम्ति अगाडि बढ्नेछौं।’
आइतबार बालुवाटारतर्फ जाने क्रममा प्रहरीले आफूहरूलाई रोकेको र अगाडि बढ्न खोज्दा लाठीचार्ज भएको बताउँदै अध्यक्ष थापाले आफूले स्थितिलाई संयमित बनाउन खोज्दा एक प्रहरी जवानले पटकपटक आफ्नो खुट्टामा बुटले हिर्काएको र पछि कठालोमा समातेर लडाउँदै घिसारेर भ्यानमा हालिएको सुनाए।
‘सरकारले जुन किसिमको आज आफ्नो आन्दोलनमाथि दमन गर्यो, जुन किसिमको बर्बरतापूर्ण ढंगको व्यवहार गर्यो र एकदम अमानवीय ढंगबाट म आफैं एउटा पार्टीको जिम्मेवार अध्यक्ष, दुई-दुई पटक, तीन-तीन पटक उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेको व्यक्तिलाई अभद्र व्यवहार गर्ने काम गर्यो, यसको म घोर भर्त्सना गर्दछु’ थापाले भने।





