एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष संलग्न पतञ्जली प्रकरणबारे छलफल हुने

२०८२ असार ११, बुधबार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही असार १३ गते सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा पार्टीको दृष्टिकोण, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल हुने छ।

बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन, पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता, नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई गत जेठ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दाको प्रतिरक्षामा पार्टीले गरेका अनुसन्धानबारे छलफल हुने कार्यसूची छ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर चलाएको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने उपप्रमुख अर्यालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार