काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर महिनामै गर्नुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारदेखि सुरु भएको बैठकमा बोल्दै नेता डा कोइरालाले निर्धारित समयमै पार्टीको १५औँ महाधिवेशन हुनुपर्छ भन्नेमा आफू दृढ रहेको उल्लेख गरे। उनले भने, ‘यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापति र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्छ।’
नेता डा कोइरालाले वर्तमान सत्ता गठबन्धन निर्माण हुँदा भएको सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो भनी प्रश्न गरे। उनले पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका वरिष्ठ नेताहरुलाई राख्नुपर्ने धारणा व्यक्त गर्दै गठबन्धनका नाममा आफ्नो बलियो सिट अरु पार्टीलाई किन अरुलाई दिइएको हो भनी जवाफ माग गरे।
निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमान्दार साथीहरूलाई टिकटबाट वञ्चित गरेर अहिले अनुशासन कारबाहीको कैँची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिन लागेको नेता डा कोइरालाले आरोप लगाए। पार्टी बलियो बनाउन रुख चिन्हको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा स्वतन्त्र रूपले उम्मेदवार बनेका कांग्रेस नेता कार्यकर्तालाई एकपटकलाई माफी दिनुपर्ने उनको भनाइ थियो।
नेविसंघ, तरुण दल, महिला संघको अहिलेको ठूलो समितिले अधिवेशन गर्न नसक्ने उल्लेख गर्दै नेता डा कोइरालाले पार्टीले जिम्मा लिएर अधिवेशन गराउनुपर्ने सुझाव दिए।





