म्याड्रिड : चर्चित पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटाको कार दुर्घटनामा निधन भएको छ। स्पेनको जामोरा प्रान्तमा स्थानीय समय अनुसार राति करिब १२:३० बजे भएको दुर्घटनामा जोटाका भाइ आन्द्रेको पनि मृत्यु भएको छ।
स्पेन प्रहरीका अनुसार उनीहरु सवार लेम्बोर्गिनी कारले अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा टायर पड्किएर अनियन्त्रित भई सडकबाट उछिट्टिएको थियो। त्यसलगत्तै कारमा आगो लागेको र कारमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जोटाको दुई हप्ता अघि मात्रै विवाह भएको थियो। उनले रुट कार्डोसोसँगजुन २२ मा विवाह गरेका थिए। विवाहपछि जोडीले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै लेखेका थिए- ‘हो, सधैँका लागि।’
पोर्चुगिज फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्साले एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा भनिएको छ- ‘पोर्चुगिज फुटबल महासंघ र सम्पूर्ण पोर्चुगिज फुटबल जगत डिएगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको आज बिहान स्पेनमा भएको निधनको खबरले स्तब्ध छ। राष्ट्रिय टोलीका लागि लगभग ५० अन्तर्राष्ट्रिय खेल खेलेका एक उत्कृष्ट खेलाडी मात्र नभई, डिएगो जोटा एक असाधारण व्यक्ति थिए। उनको हँसिलो स्वभाव र सामुदायिक भावना सबैका लागि प्रेरणाको स्रोत थियो।’
जोटा र उनकी श्रीमती रुट कार्डोसोका तीन सन्तान छन्।





