काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अरू क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् ।
शनिबार काठमाडौंमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको राजनीति विकृत भइसकेको उल्लेख गरे । उनले फोहोर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरू रहेको बताए । राजनीति ठिक भएपछि ऐन, कानुन र संविधानमा सुधार गर्न सकिने उनको भनाइ थियो ।
नेता भट्टराईले शिक्षाबाट निजी क्षेत्रलाई अलग गर्न नसकिने बताए । निजी क्षेत्रसँग मिलेर शिक्षाको सुधार गरिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।





