काठमाडौँ : नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।
विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपेकी पहाडी मंगलबार बिहान अदालतमा उपस्थित भएकी थिइन् । अदालतमा उपस्थित भएपछि न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा आजै उनको बयान र थुनछेक बहस भएको थियो ।
थुनछेक बहसपछि पहाडीलाई धरौटीमा छाड्ने आदेश भएको अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए । तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी निमित्त हुँदै २०८१ भदौ २० गते प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।





