काठमाडौँ : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संविधानको सफल कार्यान्वयनका लागि आवश्यक विषयमा संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा पार्टीका सात पूर्वपदाधिकारीबीच सोमबार भएको बैठकले संविधान संशोधनका लागि सुझाव दिएको हो । बैठकमा वर्तमान सरकार गठन हुँदा कांग्रेस र नेकपा (एमाले) बीच भएको संविधान संशोधनको समझदारीलाई अघि बढाउनुपर्ने विषयमा छलफल भएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
यस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने गरी कांग्रेसले बहस चलाउनुपर्ने विषयमा समेत छलफल भएको उनले बताए । यसैगरी सरकारले गठबन्धनको भावनाअनुसार थप प्रभावकारी रूपमा जनताका पक्षमा काम गर्नुपर्ने विषयमा छलफल भएको पनि नेता सिटौलाले बताए ।
बैठकमा उपप्रधानमन्त्री सिंह, नेताहरू सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, डा शशाङ्क कोइराला र डा प्रकाशशरण महत उपस्थित थिए ।





