काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रले महिला, दलित आदिवासी, जनजाति तथा पछाडि पारिएको वर्गको हक अधिकार स्थापित गर्न र उनीहरुलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
माक्सवादी ज्ञान केन्द्रद्वारा बुधबार काठमाडौँमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल स् एक तुलनात्मक अध्ययन’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “जुन सुकै दलका भए पनि महिलाहरु पदमा आउँदा मलाई गर्व लाग्छ, विद्रोहको औचित्य प्रमाणित भएको छ ।”
उनले लामो त्याग, सङ्घर्ष तथा सहिदहरुको बलिदानका कारण मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र त्यसले पछाडि परेका वर्गलाई अगाडि आउन महत्वपूर्ण योगदान गरेको स्मरण गरे ।
अध्यक्ष दाहालले जाति भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान गर्न सकिएन भने देश सफल हुन नसक्ने बताए । देश छाड्नुपर्छ, देशमा केही भएको छैन, सबै खत्तमै भयो भन्ने भ्रम छर्ने प्रवृत्तिविरुद्ध प्रतिवाद गर्ने औजारका रुपमा पुस्तक सार्वजनिक भएको टिप्पणी गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र अघिभन्दा गणतन्त्र आएपछि देशका धेरै क्षेत्रमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै विकसित मुलुकको तुलनामा नेपालमा छिटो प्रगति भएको दावी गरे ।





