उदयपुर : पूर्वको प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी दर्शन गरेर फर्कँदै गरेको माइक्रो बस सोमबार बिहान दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। दुर्घटनामा परि १४ जना घाइते भएका छन् ।
मध्य पहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडक खण्डको कदुवास्थित डौँठेखोला नजिकै मधेस प्रदेशको सिराहातर्फ जाँदै गरेको प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रो बिहान ९ः०० बजेजस्तो समयमा दुर्घटनामा परेको खोटाङ प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने र घाइते कसैको नाम ठेगाना अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतीक विष्टले बताए ।
माइक्रोमा सवार १६ यात्रुमध्ये मृतकबाहेक २ जना सामान्य र बाँकी सबैघाईते भएको बताए । घाइतेहरूको जयरामघाट चौकी, हलेसीस्थित इलाका र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उद्धार गरी उपचारार्थ अस्पताल पठाइएको छ। गम्भीर घाइतेहरूको तुवाचुङ नगरपालिकाको एम्बुलेन्समार्फत अस्पताल पठाइएको विष्टले जनाए ।





