ढोरपाटन : अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम गर्ने कुनै पनि संरचना निर्माण भएका थिएनन् ।
घण्टौँको पैदलयात्राले थकित पर्यटक गोरेटो छेउमै विश्राम लिन्थे । तर अहिले त्यो समस्याको समाधान भएको छ । ढोरपाटन उपत्यकादेखि करिब पाँच घण्टा उकालो पैदल यात्रापछि मात्रै बुकीपाटनको पहिलो स्थान गर्पाछेडा पुगिने हुँदा ठाउँ–ठाउँमा विश्रामस्थल निर्माण गरिएको छ ।
पदमार्गको छेउमा निर्माण गरिएका विश्रामस्थलले आन्तरिक तथा बाह्य पर्यटकको बुकीपाटन यात्रालाई सहज बनाई दिएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङले रु २० लाखमा पदमार्गसहित चेप्टा ढुङ्गा, ढुङ्गे देउराली र गर्पाछेडा गरी तीन स्थानमा विश्रामस्थल बनाई दिएको छ । विश्रामस्थलमा पर्यटकले रातसमेत बिताउने गरेका छन् । उच्च पहाडी क्षेत्र भएको हुँदा यहाँको मौसम निकै चिसो हुने हुँदा विश्रामस्थलमा बास बस्दा न्यानो कपडा भने आवश्यक पर्छ ।
अघिल्लो वर्षदेखि चर्चामा आएको बुकीपाटन यस वर्ष दैनिक १०० बढी पर्यटक ढोरपाटन उपत्यकादेखि उक्लिने गरेका छन् । ढोरपाटन पुगेका पर्यटक जति बेला पनि बुकीपाटन उक्लिँदा बीच बाटोमा अलपत्रसमेत पर्ने गरेका छन् । मौसम हेरेर दिउँसो २ः०० बजेभन्दा पछाडि ढोरपाटन उपत्यकादेखि बुकीपाटनको यात्रा गर्न नहुने होटल व्यवसायी सङ्घ ढोरपाटनका अध्यक्ष जीवन पुनले बताए। बुकीपाटन पुग्नका लागि तीनदेखि पाँच घण्टा लाग्ने हुँदा साँझपख यात्रा तय नगर्न उनले आग्रह गरे ।
अध्यक्ष पुनले भने, “बुकीपाटन चार हजार मिटरभन्दा माथिको उचाइमा रहेको हुँदा लेक लाग्न सक्छ, अलि सजक भएर जानुपर्छ, माथि ९बुकीपाटन० जाँदा दिउँसो २ः०० बजेभन्दा पछाडि यात्रा तय गर्नुहुँदैन, झोलामा पर्याप्त खानेकुरा, तातोपानी लेक लाग्ने औषधि बोक्नुपर्छ, यसपाली त ठाउँ–ठाउँमा विश्रमस्थल पनि बनेको छ, बढी गाह्रो भयो भने त्यहाँ पनि विश्राम गर्न सकिन्छ ।”
काठमाडौँबाट घुम्न आएका रूपेश वाइबाले ठाडोखोलादेखि माथि निकै उकालो रहेको हुँदा ढुङ्गे देउराली पुगेपछि दुई घण्टा विश्रामस्थलमा आराम गरेर गर्पाछेडा पुगेको बताए । पदमार्ग छेउमा बनेका काठका फल्याक र जस्तापाताले छाएका विश्रामस्थलले आफूजस्ता पर्यटकलाई ठूलो राहत दिएको उनको भनाइ छ ।
“यस्तो विकट स्थानमा पनि विश्रामस्थल बनाएको रहेछ, यहाँ त रातिमा पनि बस्न सकिँदो रहेछ, गोठमाभन्दा त विश्रामस्थलमा बस्न धेरै आनन्द हुँदो रैछ”, वाइबाले भने “विश्रामस्थलमा अल्ली व्यवस्थित ढोका बनाएको भए अझ राम्रो हुन्थ्यो, हामीहरू त माथि जाँदा पनि आराम गर्यौँ फर्किदा पनि थकाइ लागेर आराम गर्यौँ ।”
पोखराबाट आएका डेभिड गुरुङले ढोरपाटनबाट ढिला यात्रा गर्दा बुकीपाटन नपुग्दै राति भएपछि ‘स्लिपिङ ब्याग’ बिच्याएर विश्रामस्थलमै बास बसेको बताए । चार जनाको समूहमा घुम्न आएको सुनाउँदै चेप्टाढुङ्गा पुग्दा साँझ परेपछि त्यहीँको विश्रामस्थलमा रात बिताएको उनको भनाइ छ । रासस





