मोरङ : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मित्र राष्ट्र भारतसँगको सीमा विवाद वार्ता एवं संवादबाट समाधान गर्नुपर्ने बताएका छन्।
सो पार्टीको मोरङ कमिटीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतसँगको सुदूरपश्चिमको सीमाको कालापानी, लिपुलेक र लिम्पियाधुरा विवाद वार्ता एवं संवादबाट समाधान गर्न सुझाव दिए । अध्यक्ष महतोले सरकारले मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका भाषा, वेशभूषा, धर्म एवं संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मुलुकका दलहरूले जनताको समृद्धिको चाहना पूरा गर्न एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए । सात प्रदेशको सीमाङ्कन अवैज्ञानिक भएकाले यसमा सुधार आवश्यक रहेको धारणा अध्यक्ष महतोले राखे ।
उनले सङ्घीयतामा सुधार गरी आदिवासी जनजाति, मधेसी, थारुलगायतको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।





