संसद् विघटनमा रास्वपाको समर्थन

२०८२ भाद्र २९, आईतवार

काठमाडौँ : प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रस्ट शब्दमा अन्तरिम प्रधानमन्त्री नियुक्ति र लगत्तै संसद् (प्रतिनिधि सभा) विघटन असंवैधानिक भन्दै विरोध गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने घोषित निर्वाचनमा जोड दिएको छ।

रास्वपाले शनिबार साँझ विज्ञप्ति जारी गरी नवयुवा पुस्ता (जेन-जेड) को आन्दोलनबाट यो परिवर्तन सम्भव भएको उल्लेख गर्दै ‘संविधान पालनाको कोणबाट प्रश्न उठेको’ सम्म भनेको छ तर विमति प्रकट गरेको छैन। बरु वाचाअनुरूप आगामी फागुन २१ गते आम निर्वाचनलगायत काम भएन भनेचाहिँ आन्दोलनमा उत्रिने चेतावनी रास्वपाले दिएको छ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासनअनुरूप चरम भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ। यी घोषित लक्ष्यहरुबाट सरकार च्युत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार