काठमाडौं : यूएईमा जारी एसिया कप क्रिकेटमा भारतले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको समूह चरणको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले हराएको हो ।
भारतले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । ओपनर आमिर कलिमले ६४ तथा अम्माद मिर्जाले ५१ रन बनाए । ब्याटिङमा संयमित प्रदर्शन गरेको ओमानले रनरेटमा केही सुस्त रहँदा लक्ष्य पूरा गर्न सकेन । ओमान १८औं ओभरसम्म १४९-१ को अवस्थामा थियो । विकेट धेरै बाँकी रहेपनि आवश्यक रनरेट भने निकै उच्च भइसकेको थियो ।
यस हारका बाबजुद ओमानको प्रदर्शन भने तारिफयोग्य रह्यो । ओमानले टेस्ट राष्ट्रविरुद्ध बनाएको यो दोस्रो सर्वाधिक योगफल हो भने भारतविरुद्ध कुनै पनि एसोसियट राष्ट्रले बनाएको दोस्रो सर्वाधिक योगफल हो । नेपालले एसियन गेम्समा भारतसँग खेल्दा १७९ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्या, अर्शदीप सिंह, कुलदीप यादव र हर्शित रानाले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो । सन्जु सामसनले ५६ तथा अभिषेक शर्माले ३८ रन बनाए । तिलक वर्माले २९, अक्षर पटेलले २६ रन बनाए । ओमानका शाह फेसल, जित्न रामानन्दी र आमिर कलिमले २-२ विकेट लिए ।





