नेप्से २२ अंकले बढ्दा पाँच अर्ब भन्दा बढीको कारोबार

२०८२ आश्विन २३, बिहीबार

काठमाडौं : केन्द्रीय बैंकले सेयर धितोकर्जाको २५ करोड रुपैयाँको सीमा हटाएपछि बिहीबार सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ।

दसैँपछि खुलेको सेयर बजारमा नेप्से परिसूचक लगातार दुई दिन फराकिलो अंकले घटेको थियो। नेपाल राष्ट्र बैंकले सेयर धितो (मार्जिन प्रकृतिको) कर्जासम्बन्धी एकल ग्राहक सीमा हटाएपछि बिहीबार बजार सम्हालिएको हो। नेप्से २२.५९ अंकले बढेर दुई हजार पाँच सय ८२.१८ बिन्दु कायम भएर साताको कारोबार बन्द भएको छ। बिहान ११ः०३ बजेसम्ममा बजार चार प्रतिशतले बढेर ‘सर्किट ब्रेक’ लाग्दा २० मिनेटका लागि ‘मार्केट हल्ट’ भएको थियो।

आज ३१३ कम्पनीको एक करोड १८ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब २७ करोड ३२ लाख रुपैयाँभन्दा माथि पुगेको छ। व्यापार समूहको सूचक १.४८ प्रतिशतले घट्दा बाँकी सबै समूह बढेका छन्। बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बिमा र उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतभन्दा धेरैले उकालो लागेका हुन्। बाँकी समूहमा एक प्रतिशतभन्दा थोरै वृद्धि देखिएको छ।

आज सर्वाधिक वृद्धि भएको विन्ध्यवासिनी हाइड्रोपावर विकास कम्पनीका लागनीकर्ताले ८.२१ प्रतिशत कमाएका छन्। एसियन हाइड्रोपावर पाँच प्रतिशतभन्दा धेरै बढ्दा कर्पोरेट विकास बैंक र सिन्धु विकास बैंक क्रमशः चार र तीन प्रतिशतभन्दा धेरै वृद्धि भएको छ।

तर, थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले घटेको छ। भूगोल इनर्जी र आत्मनिर्भर लघुवित्त तीन प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार