काठमाडौं : चिनियाँ गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि अनुसन्धान सुरु भएको छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेसँगै पुनमाथि पनि अनुसन्धान अघि बढाएको हो । दुई पटक उपराष्ट्रपति भइसकेका नेता पुन र उनका दुई छोरा जितेन्द्र र दीपेश तथा उनी उपराष्ट्रपति छँदा ‘वैदेशिक मामिला विज्ञ’ का रूपमा नियुक्त जीवन गुरुङविरुद्ध पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ ।
माओवादी नेता पुन १४ कात्तिक २०७२ देखि ६ चैत २०७९ सम्म उपराष्ट्रपति थिए । त्यस बेला पुनको स्वकीय सचिव रहेका जितेन्द्र हाल अमेरिकामा र उनका भाइ दीपेश भारतमा छन् ।
जितेन्द्रले हुम्लापारि चिनियाँ भूमि ताक्लाकोट पुगेर तमसुक गरी ४ किलो सुन बुझेको विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । १९ असोज २०७६ (६ अक्टोबर २०१९) मा चीनको सेन्जेन प्रस्पर मंकक कम्पनीबाट चार किलो सुन उधारोमा किन्न जितेन्द्रले तमसुक गरेको खुलेको थियो ।
पुनका अर्का छोरा दीपेश असार २०८० मा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र त्यसअघि १० पुस २०७९ मा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा मुछिएका थिए । सुन तस्करी प्रकरणमा दीपेशको संलग्नता किटान गर्दै सुन जाँचबुझ आयोगले पनि थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो । दीपेश नक्कली भुटानी शरणार्थी प्रकरण र सहकारी ठगी प्रकरणका पनि आरोपित हुन् ।
पुन उपराष्ट्रपति छँदाका ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङ त्रिभुवन विमानस्थलमा १९ मंसिर २०८० मा बरामत १४ केजी सुन प्रकरणमा मुछिएर १४ फागुनमा पक्राउ परेका थिए । पछि उनी धरौटीमा छुटेका थिए ।





