बैतडी : पाटनमा सम्पन्न भएको पाँचौँ संस्करणको उदयदेव–पाटन प्रिमियर लिगको उपाधि कोइनोडा गुरुखोला लायन्सले जितेको छ ।
गुरूखोला लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । शनिबार भएको फाइनल खेलमा हिमचुली युवा सदनलाई सात विकेटले पराजित गर्दै गुरुखोलाले उपाधि जितेको हो । उपाधिसँगै गुरुखोलाले रु एक लाख लाख ३५ हजार ७९१ पुरस्कार प्राप्त गरेको छ । हिमचुलीले रु ५६ हजार ७८९ पुरस्कार प्राप्त गर्यो । जितका लागि पाएको ११० रनको लक्ष्य गुरुखोलाले नौ दशमलव एक ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो ।
उसका लागि गजेन्द्र बोहराले सर्वाधिक ४३ रनको योगदान दिए । बलिङतर्फ हिमचुलीका पारस विष्टले दुई विकेट लिए । यसअघि पाटनको श्रीकृष्ण खेलमैदानमा पहिला ब्याटिङ गरेको हिमचुलीले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय नौ रन बनायो । उसका लागि ऋषिकेश बोहराले सर्वाधिक १७ रन जोडे ।
बलिङतर्फ प्लेयर अफ दी म्याच भएका गुरुखोलाका कैलाश ऐरले चार विकेट लिए । हिमचुलीका तर्फबाट खेल्दै एक सय १० रन र सात विकेट हात पारेका ऋषिकेश बोहरा प्लेयर अफ दी सिरिज भए । बनारसी क्रिकेट टोलीबाट खेल्दै एक सय ८४ रन हिर्काएका अभिषेक पाल उत्कृष्ट ब्याटर तथा सात विकेट लिएका गुरुखोलाका राम चन्द उत्कृष्ट बलर चुनिए । पाटन एकता समाज ‘ख’ का समिर भण्डारी उदीयमान खेलाडी भए ।
विजेतालाई आयोजक पाटन एकता समाजका अध्यक्ष किरण चन्द, पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमल बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए । गत असोज २५ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १३ टोली सहभागी थिए ।





