काठमाडौं : बिहीबारसम्म २ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
९ असोजदेखि २७ कात्तिकसम्मको अवधिमा २ लाख ५७ हजार ५०५ जना नयाँ मतदाता थपिएका निर्वाचन आयोगले जनाएको छ । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले मतदाता नामावली ऐन, २०७३ सोशोधन गरी ९ असोजदेखि मतदाता नामावली दर्ता आह्वान गरेको थियो ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मतदान गर्न योग्य धरै जेनजीहरू बञ्चित हुने भएपछि सरकारले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलनको बाटो खुला गरेको थियो । मतदाता नामावली ऐन अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने कानुनी व्यवस्था छ ।
सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताका लागि समय तोकेको थियो । तर, नागरिकको उत्साहजनक सहभागिता रहेको भन्दै शुक्रबार सरकारले मतदाता नामावली दर्ता संकलन मिति ५ दिन थप गरेर ५ मङ्सिरसम्म थपेको छ ।





