काठमाडौँ : रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच दुई पार्टीका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका हुन् ।
सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ नै रहने र चुनाव चिह्न ‘तारा’ राख्ने सहमति भएको छ । यससँगै दुवै पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरू अब स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिसहित सम्पूर्ण साविकका संरचना र जनवर्गीय संगठनहरूलाई आपसी सहमतिका आधारमा नयाँ पार्टीमा समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ ।






