काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल’प्रचण्ड’ले आगामी निर्वाचनमा युवालाई उम्मेदवार बनाउने बताएका छन् ।
जेनजी पुस्तालाई राजनीतिक मूलधारमा ल्याउने उद्देश्यसहित पार्टीले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा युवालाई प्राथमिकता दिने उनले बताएका हुन् ।
आइतबार जेनजी रेडफोर्सले आयोजना गरेको जेनजी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रममा बोल्दै दाहालले पार्टी संरचना र चुनावी तयारीमा युवाको भूमिका बढाइने जानकारी दिए ।
उनले भने, ‘हामीले अहिले पार्टी निर्माणको क्रममा होस् या चुनावमा । समानुपातिक लिस्ट तयार पार्दा होस् या प्रत्यक्ष निर्वाचनमा पनि युवा र नवयुवा जो जेनजी पुस्ताका युवाका रूपमा चिनिन्छन् । उनीहरूलाई उच्च प्राथमिकता दिने हामीले कोसिस गरेका छौँ । हामीले जेनजी पुस्ताका मुस्कान खातुनलाई अगाडि सारेर हजारौँ लाखौँ युवालाई सम्बोधन गर्न खोजेका छौँ । आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिकमा पनि बढीभन्दा बढी युवालाई र केन्द्रीय समितिमा पनि बढीभन्दा बढी युवालाई हामी समेट्दै छौँ ।’





