स्पेनमा रेल दुर्घटना : चालकको मृत्यु, ३७ यात्रु घाइते

२०८२ माघ ७, बुधबार

काठमाडौँ : स्पेनको बार्सिलोना नजिकै एउटा यात्रुबाहक रेल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन्। भारी वर्षा र आँधीका कारण ट्रयाकको सुरक्षा पर्खाल भत्किएर रेलसँग ठोक्किँदा उक्त दुःखद घटना भएको हो।

दक्षिणी स्पेनमा दुईवटा रेल आपसमा ठोक्किएर भएको भीषण दुर्घटनाको केही दिनभित्रै बार्सिलोनामा अर्को रेल विपत्ति निम्तिएको छ। स्थानीय अधिकारीहरूका अनुसार मंगलबार साँझ गेलिडा र सान सादुर्नीको बिचमा गुडिरहेको रोडालीज रेल ट्रयाकमा झरेको पर्खालसँग ठोक्किएर लिकबाहिर पुगेको थियो।

उद्धारका लागि ११ वटा एम्बुलेन्स र ३५ वटा अग्नि नियन्त्रक टोली परिचालन गरिएको थियो। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ भने अन्य ६ जनाको अवस्था मध्यम र २६ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रेलभित्र थुनिएका एक यात्रुलाई लामो प्रयासपछि जीवितै उद्धार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार