काठमाडौँ : भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सोमबार (आज) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको २० करोड रुपैयाँ अर्थात २० लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकिएको छ।
अब कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ८ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यी शेयरको कुल मूल्य ८ करोड ३० लाख रुपैयाँ बराबर रहेको छ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा माघ १५ गते बन्द हुनेछ भने सो अवधिभित्र सबै शेयर नबिकेमा ढिलोमा माघ २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्वा प्रणालीमार्फत नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।





