काठमाडौं : भारतको राजस्थानस्थित एक पटका कारखानामा आगलागी हुँदा सात जना मजदुरको मृत्यु भएको छ ।
राजस्थानको भिवाडीस्थित खुसखेडा करौली औद्योगिक क्षेत्रको एक रसायन र पटका कारखानामा सोमबार आगलागी भएको हो । आगलागीमा परी गम्भीर घाइते भएका दुई मजदुरलाई उपचारका लागि दिल्लीको एम्स अस्पताल पठाइएको छ ।
अतिरिक्त जिल्ला मजिस्ट्रेट (एडीएम) सुमित्रा मिश्राले आगलागीमा परी सात जना मजदुरको मृत्यु भएको पुष्टि गरिन् । उनले भनिन्, ‘हामीले सात जनाको शव निकालेका छौं । मृतकहरू सबै बिहारको मोतिहारी जिल्लाका बासिन्दा हुन् ।’
घटनाबारे आवश्यक अनुसन्धान जारी रहेकोले कारखानामा के कारणले आगलागी भएको हो भन्नेबारे खुल्न नसकेको बताइएको छ ।





