रौतहट : रौतहटको राजपुर नगरपालिका-५ पानीटंकीस्थित राजपुरबाट अकोलवा जाने भित्री पक्की सडक खण्डको बीच भागमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
आज बिहान करिब साढे १ बजे फलामको ड्रमभित्र पहेँलो रङको प्लास्टिकको बोरामा शंकास्पद वस्तु राखिएको तथा ड्रमको छेउमा बाटोमै ‘बम हो’ लेखिएको थियो । सूचनापछि प्रहरी टोली र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ खटिएको थियो ।
घटनास्थलमा पुगेर जाँच गर्दा उक्त शंकास्पद वस्तुमा माटो मात्र भरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले सर्वसाधारणलाई यस्ता शंकास्पद वस्तु देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।





