काठमाडौं : ताप्लेजुङमा अवस्थीत प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन ७ हजार २२ जना भक्तजनले दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार सात हजार २२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । उक्त सङ्ख्या हालको सिजनकै बढी भएको समितिले जनाएको छ । समितिका अनुसार चैते दसैँ अर्थात रामनवमी पर्वको समयमा पाथीभरा दर्शन गर्ने भक्तजन उल्लेख्य रुपमा आउन थालेका छन् ।
दसैँ–तिहारपछि अहिलेको मौसमलाई पाथीभरा दर्शन गर्ने एक मुख्य सिजन (मौसम) मानिन्छ । सोहीअनुसार हिजोआज पाथीभरामा भक्तजन उल्लेख्य रुपमा आइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।
कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरा दर्शन गर्ने मौसम सुरु हुनासाथ अर्थात चैतको पहिलो साताको अन्त्यदेखि निरन्तर वर्षा भएकाले दर्शनार्थीलाई केही असर पुगेको थियो । निरन्तरको वर्षा र हिमपातले पाथीभरा दर्शन गर्न आउने भक्तजनलाई केही असर पुगेको र पछिल्लो सातादेखि मौसममा केही सुधार आएसँगै भक्तजनको भिड बढ्न थालेको समितिले जनाएको छ ।
समितिका अनुसार चैत महिना यता शुक्रबारसम्ममा ३६ हजार ७३६ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । शुक्रबारसम्मको उक्त सङ्ख्या र शनिबारको समेत गरी चैत महिनामा अर्थात शनिबारसम्ममा पाथीभरा दर्शन गर्ने भक्तजनको ४३ हजार ७५८ पुगेको छ ।





