बागमतीका सांसदले ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने

२०८३ बैशाख १६, बुधबार

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ ।

आर्थिक मामला तथा योजना मन्त्रालयले बुधवार पत्र लेख्दै वैशाख २१ गतेभित्रै योजनाको विवरण बुझाउन अल्टिमेटम दिएको हो । मन्त्रालयले प्रदेश सभाका सदस्यहरूलाई पत्राचार गर्दै ६ दिनको समयसीमाभित्र बजेट तर्जुमाका लागि वार्षिक आयोजना प्रस्ताव तथा छनोट सम्बन्धी निर्देशिका, २०८३ अनुसारका योजनाहरू माग गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको निर्देशनअनुसार प्रमुख स्वकीय सचिव आसिस न्यौपानेले जारी गरेको पत्रमा ६ दिन भित्र योजना पठाउन सांसदहरूलाई आग्रह गरिएको हो ।

‘आयोजना प्रस्ताव तथा छनोट सम्बन्धी निर्देशिकाको अनुसूची ३ बमोजिमको ढाँचामा २०८३ वैशाख २१ गते भित्र कार्यान्वयन इकाई/कार्यालयमा आयोजना विवरण उपलब्ध गराउनुहुन पत्राचार गरिन्छ,’ पत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालयले स्रोत र साधनको सीमितता रहेको भन्दै उच्च प्रतिफल दिने र बहुसंख्यक नागरिक लाभान्वित हुने योजनालाई मात्र प्राथमिकता दिने जनाएको छ । सांसदहरुले तोकिएको ६ दिनभित्र योजना नबुझाए आगामी वर्षको बजेटमा उनीहरूका क्षेत्रका योजना नसमेटिने मन्त्रालयको भनाइ छ ।

प्रदेश सभा सदस्यहरूले आफूले प्रस्ताव गरेका आयोजनाहरूको विवरण निर्देशिकाको अनुसूची ३ बमोजिमको ढाँचामा तयार पारी आगामी २०८३ वैशाख २१ गतेभित्र सम्बन्धित कार्यान्वयन इकाई वा कार्यालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार