काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई भेटेर सरकारको काम र पार्टीको नीतिबारे बताएका छन्।
व्यवसायीलाई पक्राउ गर्न थालेपछि सरकारसँग त्रसित भएका उद्योगी व्यवसायीलाई भेटेर लामिछानेले सरकारको कामको बचाउ र आफ्नो पार्टीको नीति बताएका हुन्।
आइतबार ललितपुरको हिमालय होटलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र सदस्यहरुसँग संवाद गर्दै लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारसँग तर्र्सिएका उद्योगी व्यवासायीलाई फकाउँदै आश्वस्त पार्ने प्रयास गरेका हुन्।
उद्योगी व्यवसायीहरुको भनाइ सुनेपछि जवाफ दिएका लामिछानेले सरकारको कामको बचाउ गरे भने पार्टीले चुनावमा ल्याएको वाचापत्र उल्लेख गरेर नीतिगत सुधारमार्फत व्यवासयीलाई सहजीकरण र संरक्षण गर्ने आश्वासन दिए। विशेषगरी, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको पक्राउ र विदेशबाट आयात भएका सामानमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य (एमआरपी) स्टिकर टाँस भएको हुनुपर्ने नियम कडाइका लागू गरिएपछि व्यवसायीहरु सरकारको कार्यशैलीप्रति सशंकित भएका थिए।
उद्योगी व्यवसायीले सरकारको गतिविधिबाट त्रसित भएको र मनोबल खस्किएको बताएपछि रवि लामिछानेले उनीहरुसँग संवाद गरेका थिए।व्यवसायीसँगको संवादमा धेरै बोल्नेभन्दा पनि सुन्नका लागि यहाँ उपस्थित भएको भन्दै आफ्नो कुरा सुरु गरेका लामिछानेले सरकारको काम, आगामी नीति र योजना बारे लामै फेहरिस्त सुनाए।
व्यवसायीमाझ उनले भने, ‘रास्वपाले बाचापत्रमार्फत धेरै कुरा राखेको छ, वास्तविक अर्थतन्त्रको विकासका लागि निजीक्षेत्रको समस्या सम्बोधनका लागि, आम सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष रुपमा सम्बोधन गर्न रास्वपाले रोड म्याप बनाएको छ।’
प्राकृतिक स्रोतहरुको सदुपयोग गर्दै आर्थिक उत्पादनमा जोड दिन सकिने र त्यसलाई सदुपयोग गर्ने कि दुरुपयोग गर्ने भन्ने मुख्य सरोकारको विषय रहेको उनले बताए। सरकारको कामबारे उल्लेख गर्दै लामिछानेले भने, ‘सरकार बाचापत्र हेरेर चल्छ, हामीले यही देखाएर भोट मागेका हौँ। तपाईंहरुको सल्लाह–सुझाव छ, हामीले तपाईंहरुको सरोकारमा हामीले विमती राख्नुपर्ने ठाउँनै छैन।’
व्यवसायीलाई नीतिले नै डोर्याउने विधि अपनाउन लागिएको भन्दै उनले थपे, ‘तपाईंले मलाई मेरो घरलाई र पार्टी कार्यालयलाई देख्नुपर्दैन, टेक्नुपर्दैन। हामी तपाईंहरुको समस्या सहजै सम्बोधन गर्न चाहन्छौँ। पहिला तपाईंहरुले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला। तर हामी तपाईंहरुलाई फरक ढंगबाट देखिने गरी परिवर्तन महशुस गराउन चाहन्छौँ।’
व्यवसायीलाई पक्राउ गरिएको विषयमा लामिछानेको प्रस्टीकरण थियो, ‘धरपकडका विषयमा म तपाईंहरुलाई स्पष्ट भन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौँ। यसमा केही असहज हुन सक्छ। निजीक्षेत्र सशंकित भएको, अलि डराएजस्तो देखेर नै म तपाईंहरुसँग बस्न चाहेको हो। तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन। हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहदैनौँ। तर, केही व्यवसायीहरु, पात्रहरुले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नुपरेको हो। यसका लागि सरकारले बेलैमा नियन्त्रण गर्न त आवश्यक छ । सरकारले अहिले यही गरेको हो।’
उनले सरकारले गरेको पक्राउबारे थप प्रस्ट्याए, ‘खिल निकाल्दा क्षणिक समयका लागि दुख्न सक्छ, समस्या हुनुसक्छ तर अन्ततः यसले सबैलाई फाइदा नै पुग्छ।’





