काम गर्न सकिने योजना मात्र छनोट गर्नुहोस् : मुख्यमन्त्री कँडेल

२०८३ बैशाख २३, बुधबार

सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा काम गर्न सकिने मात्र छनोट गर्न आग्रह गरेका छन् ।

प्रदेश समन्वय परिषद्को सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित कार्यक्रमको समापन कार्यक्रममा मुख्यमन्त्री कँडेलले आगामी वर्षको बजेट एक प्रतिशतले वृद्धि गर्ने तयारीमा रहेको बताए । परम्परागत सोच बदल्नुपर्ने भन्दै उनले संरचनात्मक सुधारबिना लक्ष्यमा पुग्न नसकिने उल्लेख गरे ।

आर्थिक रुपमा बलियो हुँदै आफूले पाएको अधिकार प्रयोग गर्नतर्फ स्थानीय तह तथा प्रदेश सरकार लाग्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए। संविधानले दिएको अधिकार र जिम्मेवारीअनुसार प्रदेश तथा स्थानीय तहले समन्वयमा काम गर्दै आर्थिक आधार बलियो बनाउनुपर्ने उनले बताए । उनले भने, “कृषि, पर्यटन, जलस्रोत, उद्योग र सेवा क्षेत्रलाई आयआर्जनको मुख्य आधारका रूपमा विकास गर्नुपर्छ ।

प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव हुन्छ ।” विकासका लागि वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउनुपर्ने भन्दै मुख्यमन्त्री कँडेलले सङ्घीयता कार्यान्वयनको मूल मर्मअनुसार तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वय आवश्यक रहेको बताए ।

आगामी तीन वर्षको बजेट, चालु आर्थिक वर्षको खर्चको विवरण, सङ्घीय सरकारबाट प्राप्त अनुदान, राजस्व र आयोजना कार्यान्वयनको अवस्था हेरेर एक प्रतिशत बजेट बढाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार