भदौ २३-२४ दासढुंगा घटनाकै निरन्तरता : बादल

२०८३ जेष्ठ ३, आईतवार

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले दासढुंगा घटना सामान्य सडक दुर्घटना या देशी-विदेशी शक्तिहरूको एउटा गम्भीर राजनीतिक षड्यन्त्र थियो भन्ने आजसम्म अनुत्तरित र रहस्यमय रहेको बताएका छन् ।

मदन-आश्रित स्मृति दिवसमा बल्खुमा आयोजित कार्यक्रममा बादलले भने, ‘नेपालको राजनीतिक इतिहास केलाउँदा हामी के पाउँछौँ भने, देशी-विदेशी शक्ति र सत्ताहरूका लागि कुनै राजनीतिक दल, त्यसको नेता वा कुनै व्यक्ति एउटा गम्भीर चुनौती र खतराको रूपमा उपस्थित हुन्छ, तब उनीहरूले आफ्नो सत्ताको रक्षाको लागि उनीहरूलाई भौतिक रूपमै समाप्त गर्ने, हत्या गर्ने, ध्वस्त पार्ने एउटा अन्तिम सहारा उनीहरूले लिने गर्दछन्, त्यसको अभ्यास गर्ने गर्दछन् ।’

कोतपर्वदेखि दरबार हत्याकाण्डसम्मको उदाहरण दिँदै बादलले भदौ २३-२४ सम्म आइपुग्दा यो शृङ्खलाको अन्त्य नभएको टिप्पणी गरेका छन् ।

‘हामीले भर्खरै भदौ २३-२४ गते पनि हामी दासढुङ्गा प्रकरण देख्छौँ । राजनीतिक दलहरूलाई सिङ्गै जलाउने प्रयत्न गरियो, षड्यन्त्र गरियो । हामीले देख्यौँ-हाम्रा पार्टी कार्यालयहरू, हाम्रा नेताहरूका निजी निवासहरूलाई जलाइयो, सिङ्गै देशलाई जलाइयो ।’

त्यसदिन एमाले नेतृत्वमा रहेको सरकार र संसद्लाई विघटन गर्ने षड्यन्त्र भएको भन्दै उनले थपे, ‘यी घटनाहरू के हुन् ? यो वास्तवमा यसको अन्तर्यमा हामीले राजनीतिक रूपमा यसको विश्लेषण गर्दा यो दासढुङ्गा घटना कै निरन्तरता नै थियो ।’

फागुन २१ को चुनावको परिणाम र त्यसपछिका घटनाक्रमलाई केलाउँदै बादलले यी सबै दासढुंगा घटनाकै निरन्तरता रहेको टिप्पणी गरे ।

बादलले भने- अध्यादेश तपाईँ हेर्नुस्, मन्त्रिपरिषद्ले गरेका निर्णयहरू हेर्नुस्, हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुस्, उहाँमाथि लगाइएका मुद्दाहरूको प्रकृतिलाई हेर्नुस् । यी सबै घटनाहरू के हुन् ? यी सबै घटनाहरू दासढुङ्गा घटनाकै निरन्तरता हुन्, त्यसैको एउटा शृङ्खलाको रूपमा हामीले बुझ्नुपर्छ ।

देशी-विदेशी शक्तिहरू एमालेलाई सखाप पार्ने अभियानमा लागेको दाबी गर्दै उनले एमाले र नेतृत्वलाई रक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको उनले सुनाए ।

‘एमालेलाई ध्वस्त पार्ने, समाप्त पार्ने जो गम्भीर षड्यन्त्र भइरहेको छ, हामी हाम्रो पार्टी, हाम्रो नेताको रक्षाको निम्ति सतिसाल झैँ उभिनेछौँ । यो सङ्कल्प गर्न जरुरी छ’, बादलले भने, ‘देशी-विदेशी शक्तिहरूले जबजको बारेमा जुन भ्रम सिर्जना गर्न सफल भए, हामी जबजको रक्षाको निम्ति, त्यसको विकासको निम्ति, दुश्मनले फैलाएका यी भ्रमहरूलाई चिर्न हामी दृढ सङ्कल्प गर्छौँ भन्ने आज यो ऐतिहासिक अवसरमा हामीले यो दृढ सङ्कल्प गर्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार