काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी–व्यवसायीलाई हतोत्साहित गरेर मुलुकको अर्थतन्त्र सुदृढ बनाउन नसकिने बताएका छन्।
नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड भएकाले त्यसको संरक्षण, प्रवर्द्धन र विकासमा प्रदेश सरकार सधैं साथमा रहने बताएका हुन्। उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बेला संघीय सरकारका केही गतिविधिका कारण व्यवसायीहरू निरुत्साहित भइरहेको टिप्पणी गरे।
‘व्यवसायीलाई थुनेर, हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन,’ मुख्यमन्त्री आचार्यले भने, ‘कसैले बदमासी गरेका छन् भने कानुनी रूपमा कारबाही गर्न सकिन्छ। तर, सिंगो व्यवसाय क्षेत्रलाई नै धरपकडको मानसिकताबाट हेर्नु देशका लागि राम्रो संकेत होइन।’ उनले अहिले निजी क्षेत्र आर्थिक दबाबमा रहेको अवस्थामा थप असहज वातावरण सिर्जना भए उद्योग–व्यवसाय नै धरासायी हुने खतरा रहेको चेतावनी दिए।
मुख्यमन्त्री आचार्यले उद्योगहरूको विद्युत् लाइन काटिएको विषयमा प्रदेश सरकारले सक्रिय पहल नगरेको भए समस्या थप जटिल बन्न सक्ने अवस्था रहेको बताए। सातै प्रदेश र प्रधानमन्त्रीसँग छलफल गरेर उक्त समस्या समाधान गरिएको उनले स्मरण गरे। व्यवसायीका समस्याबारे संघीय सरकारसँग निरन्तर संवाद र समन्वय गरिने उनले बताए।





