काठमाडौँ : अभिनेत्री पूजना प्रधान ‘स्त्री’ ४ वर्षपछि फिल्म अभिनयमा फर्किएकी छन् ।
परिच्छेद सेनको निर्देशनमा बनिरहेको फिल्म ‘महाराजधिराज’बाट उनले कमब्याक गरेकी हुन् । यसै साता फिल्ममा अनुबन्धित भएकी उनले सोमबारबाट छायांकन सुरु गरिसकेकी छन् ।
‘महाराजधिराज’को काठमाडौंका विभिन्न ठाउँमा छायांकन भइरहेको छ । सुनसरी जिल्लाको श्रीलंका टापुबाट सुरु भएको फिल्मको छायांकन सेड्युल ७० दिनको छ । छत्रेश्वर म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ । फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ बनाएका थिए ।
फिल्ममा पूजनासहित रमेश उप्रेती, आर्यन सिग्देल, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, नीर शाह, विशाल पहाडी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा रवि खड्का र टोपेन्द्र विष्ट निर्माताको रूपमा छन् ।





