काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना आफूहरुले नगरेको उल्लेख गर्दै सत्ताका लागि तीन दल मिलेर जाने अवस्था नरहेको बताएका छन् ।
पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बरु आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको तर प्रमुख प्रतिपक्षीविहीन प्रदेशसभाको परिकल्पना समेत गर्न नसक्ने बताए ।
प्रदेश सरकारमा देखिएका समस्या समाधानका लागि संवादहरू जारी रहेको उल्लेख गर्दै उनले भने, ‘आन्तरिक रूपमा संवाद भइरहेका छन् । हाम्रो बटमलाइन भनेको कुनै पनि प्रदेशसभा प्रतिपक्ष विहीन बन्नु हुँदैन भन्ने हो ।’
उनले अगाडि भने, ‘बरु हामी प्रतिपक्षमा बस्न तयार छौँ । नागरिकको मत विपरीत हामी प्रमुख दलहरूको सरकारमा बस्न चाहन्नौँ । हामीले जे चाहन्छौँ त्यही हुन्छ भन्ने पनि हुन्न सबै राजनीतिक दलहरूको आत्मसम्मान र सहअस्तित्वलाई संवादबाट हल गर्दै हामी टुंगोमा पुग्नेछौँ ।’





