वर्षाका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध

२०८३ श्रावण ९, शनिबार

काठमाडौँ : देशभर भइरहेको लगातारको वर्षाका कारण विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले दिएको जानकारी अनुसार बिहान ७ बजेसम्म बाढी, पहिरो र लेदो खसेका कारण सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावतमा रोक लगाइएको भए पनि बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सुचारु हुनेछन्।

त्यसैगरी, वर्षातका कारण मकवानपुरस्थित कान्ति लोकपथमा पनि रातिको समयमा सबै किसिमका सवारीसाधन चलाउन रोक लगाइएको छ र बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्मका लागि आवतजावत बन्द गरिएको छ।

इलाम नगरपालिका-९ राजदुवालीमा वर्षाका कारण बाटो हिलो भई सवारीसाधन आवतजावत गर्न नसक्ने भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि सो स्थानमा वैकल्पिक बाटोको व्यवस्था गरिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलोमा सडक माथिबाट पहिरो खसेर अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने सोही गाउँपालिकाको वडा नम्बर २ कोदारीस्थित ईकु पहिरोमा पनि सडक माथिबाट ढुंगा र माटो सहितको लेदो खस्दा बाटो पूर्ण रूपमा बन्द भएको छ।

बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाघु-रामेछाप राजमार्गमा तामाकोशी खोलाको पानीको बहाव बढेर कटान गर्दा सडक अवरुद्ध भएको छ, तर खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो खुलाइएको छ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका-३ कुलुङमा पहिरो जाँदा पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ भने उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशुली नदीले सडक मुनीबाट कटान गरेपछि त्रिशुली मैलुङ स्याफ्रुबेँसी जाने कच्ची सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैगरी, मुगुको छायानाथ रारा नगरपालिका-७ पिना खोलास्थित नाग्म-गमगडी सडक खण्डमा माथिबाट ढुङ्गासहितको पहिरो निरन्तर खसिरहेका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार