काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अहिले पनि विभिन्न शक्तिको प्रहारको निशानामा रहेको दाबी गर्दै पार्टीको अस्तित्व र भविष्यलाई चुनौती दिने प्रयास भइरहेको बताएका छन्।
नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीका कमजोरी र उपलब्धिलाई एकपक्षीय रूपमा नभई समग्रतामा मूल्यांकन गर्नुपर्ने धारणा राखे। उनका अनुसार आलोचनाले संगठनभित्र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्न सहयोग पुग्नेछ। एमालेप्रति विभिन्न समूहको दृष्टिकोण फरक–फरक रहेको उल्लेख गर्दै पोखरेलले भने, “हाम्रा मित्रहरूले हामीलाई कम्युनिस्ट देख्नुभएन।
पूँजीवादी–साम्राज्यवादीहरूले भने हामीलाई धेरै कम्युनिस्ट ठानेर भदौ २३ र २४ गते सडकमा पछार्ने काम गरे।” उनले एकातिर आफूहरूलाई कम्युनिस्ट नै नमान्ने र अर्कोतर्फ कम्युनिस्ट भएकै कारण निशाना बनाइने अवस्था रहेको टिप्पणी गरे। कमजोरीबाट कुनै पनि संस्था वा व्यक्ति मुक्त नरहेको स्वीकार गर्दै उनले एमालेभित्र पनि सुधार गर्नुपर्ने पक्ष भए पनि उल्लेखनीय सफलताहरू रहेको दाबी गरे।
पोखरेलले भने, “मूल्यांकन गर्ने विषय हामी आफैंबीचको हो। सबै पक्षलाई समग्रतामा हेर्नुपर्छ। हामीभित्र कमजोरी छन्, तर सफलताका सबल पक्ष पनि छन्। ती उपलब्धिकै कारण हामीले विभिन्न प्रहारको सामना गरिरहेका छौं। केही पनि उपलब्धि नभएको भए सायद यति धेरै शत्रु पनि हुने थिएनन्।”





