काठमाडौं : यमनबाट साउदी अरेबियामाथि मिसाइल र ड्रोन आक्रमण गरिएको छ ।
आक्रमणमा जिजानस्थित औद्योगिक क्षेत्रका महत्त्वपूर्ण संरचना तथा विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी अरामकोसँग सम्बन्धित पूर्वाधारलाई निसाना बनाइएको जनाइएको छ । हमलापछि केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । यान्बु प्रान्तका निम्ति आपत्कालीन सतर्कता जारी गरिएको छ ।
यमनबाट प्रहार गरिएका मिसाइल र ड्रोनले साउदी अरेबियाको जिजान औद्योगिक क्षेत्रमा विस्फोट गराएका हुन् । जिजानस्थित एक महत्त्वपूर्ण औद्योगिक संरचनालाई निसाना बनाइएपछि विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी अरामकोसँग सम्बन्धित ऊर्जा पूर्वाधारको सुरक्षाका विषयमा चिन्ता बढेको छ ।
आक्रमणबाट जिजान, यान्बु र दमाद क्षेत्र प्रभावित भएका छन् । साउदी नागरिक सुरक्षा निकायले ‘नेसनल अर्ली वार्निङ प्लेटफर्म’मार्फत यान्बु प्रान्तका बासिन्दाका निम्ति आपत्कालीन सतर्कता जारी गरेको छ ।
शुक्रबार राति साउदी अरेबियाले हुथीको नियन्त्रणमा रहेको यमनको होदेदामा हवाई आक्रमण गरेको थियो । त्यसपछि हुथीको विदेश मन्त्रालयले उक्त आक्रमणको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो । कडा जवाफ दिने घोषणा गरेको थियो ।
हुथीसम्बद्ध अल–मसिराह टेलिभिजनका अनुसार, साउदीमा आक्रमणमा होदेदास्थित दूरसञ्चार प्राधिकरणका भवन तथा कमारान टापुलाई निसाना बनाइएको थियो । उक्त आक्रमणमा एक महिला घाइते भएको पनि जनाइएको छ ।





