रोल्पा : रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् । मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।
अध्यक्ष पुनको जानकारी अनुसार, सोही पहिरोमा परेर ६२ वर्षीय कुले घर्ती गमभीर घाइते भएका छन् । उनको उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा लगिएको उनले जानकारी दिए । मृत्यु भएका दुई महिलाको शवसमेत फेला परिसकेको छ ।
पहिरोमा केही पशुचौपाय पनि परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो । लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी कार्यमा खटिएका थिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।





