बैंकसँग मिलेर जग्गा लिलाम गरेको आरोप लागेपछि बहादुर सिंह लामाले दिए स्पष्टीकरण

२०८३ श्रावण ९, शनिबार

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले आफूले ज्योति विकास बैंकसँग मिलेमतो गरी जग्गा लिलाम गरेर हडपेको भन्ने आरोप निराधार, भ्रामक र नियोजित भएको बताएका छन्।

केही दिनयता सामाजिक सञ्जालमा एक महिलाले लामा र ज्योति विकास बैंकको मिलेमतोमा घरजग्गा लिलाम गरिएको आरोप लगाएपछि लामाले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका हुन्।

लामाका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित च्याउकी माया तामाङको नाममा रहेको घरजग्गा धितो राखेर करिब चार वर्षअघि ज्योति विकास बैंकको नेपालटार शाखाबाट घर निर्माण कर्जा लिइएको थियो। आर्थिक अभावका कारण लामो समयसम्म ऋणको किस्ता तथा ब्याज भुक्तानी हुन नसकेपछि बैंकले कानुनी प्रक्रियाअनुसार पटक–पटक ताकेता गर्दै राष्ट्रिय दैनिकमा चार पटकसम्म लिलामको सूचना प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार तीन पटकसम्म पनि कसैले उक्त सम्पत्ति सकार नगरेपछि चौथो पटक सूचना प्रकाशित भएपछि जग्गाधनी च्याउकी माया तामाङ स्वयंले सहयोगका लागि अनुरोध गरेको, साथै आफन्त र स्थानीयको आग्रहपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफूले लिलाम सकार गरेको लामाको दाबी छ।

लामाले घटनासँग कुनै सम्बन्ध नभएका व्यक्तिहरूले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले आधारहीन प्रचार गरेको आरोप लगाउँदै यस्ता सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेका छन्। साथै, तथ्यहीन र मानहानि हुने सामग्रीको थप प्रचार–प्रसार भए कानुनी उपचारको बाटो अपनाउने चेतावनी पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार