अर्जेन्टिनाका रक्षक ओटामेन्डीले लिए सन्न्यास

२०८३ श्रावण १०, आईतवार

काठमाडौं : अर्जेन्टिनाका अनुभवी डिफेन्डर निकोलस ओटामेन्डीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को फाइनल खेलेको केही दिनपछि उनले राष्ट्रिय टोलीसँगको आफ्नो १७ वर्ष लामो यात्रालाई पूर्णविराम दिएका हुन् ।

३८ वर्षीय सेन्टर–ब्याक ओटामेन्डीले सन् २००९ मा अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए । उनले बिहीबार आफ्नो सन्न्यासको घोषणा गर्दै स्पेनविरुद्धको विश्वकप फाइनल नै अर्जेन्टिनाको जर्सीमा आफ्नो अन्तिम खेल भएको बताएका छन् । उक्त खेलमा साविक विजेता अर्जेन्टिना अतिरिक्त समयमा १–० ले पराजित भएको थियो ।

ओटामेन्डीले अर्जेन्टिनाका लागि कुल १३९ अन्तर्राष्ट्रिय खेल खेले । उनले सन् २०१०, २०१८, २०२२ र २०२६ गरी चार संस्करणको विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका थिए । सन् २०२२ को कतार विश्वकप जित्ने टोलीका महत्त्वपूर्ण सदस्य रहेका उनी सन् २०२१ र २०२४ का लगातार दुई कोपा अमेरिका उपाधि विजेता टोलीमा पनि समावेश थिए ।

सन्न्यासको घोषणा गर्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक सन्देश लेखेका ओटामेन्डीले आफ्नो करिअरकै सबैभन्दा कठिन शब्दहरू लेख्नुपरेको बताएका छन् । भाग्यले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल विश्वकप फाइनल बनाइदिएको उल्लेख गर्दै उनले नतिजा आफ्नो पक्षमा नआए पनि टोलीले अन्तिम सेकेन्डसम्म संघर्ष गरेको बताएका छन् ।

उनले विश्व विजेता बन्ने आफ्नो सपना पूरा गर्ने अवसर दिएकोमा अर्जेन्टिनालाई धन्यवाद दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार